गाडीमा आउने सनरुफ आवश्यकता हो वा अनावश्यक खर्चको भारी ?

गाडीमा आउने सनरुफ आवश्यकता हो वा अनावश्यक खर्चको भारी ?

पहिले पानारोमिक सनरुफ ठूला एसयूभीहरूमा मात्र सीमित थियो, तर आजकल सबकम्प्याक्ट एसयूभीदेखि साना ह्याचब्याक कारसम्म पनि सनरुफहरू व्यापक रूपमा प्रयोग हुन थालेका छन्। विशेष गरी युरोपियन देशहरूमा घाम कम लाग्ने भएकाले गाडीको क्याबिन न्यानो बनाउन पानारोमिक सनरुफको विकास गरिएको थियो, ताकि गाडीभित्रै बसेर घाम ताप्न सकियोस्।

बाहिरी वातावरण सफा हुँदा सनरुफ खोल्नाले गाडीको क्याबिनमा ताजा हावा प्रवेश हुन्छ, जसले यात्रामा एक प्रकारको फ्रेश महसुस गराउँछ। धेरैजसो साना केटाकेटीहरूलाई पनि यस्ता सनरुफबाट बाहिर टाउको निकालेर यात्रा गर्ने रहर हुन्छ। तर, हाम्रो जस्तो धेरै चिसो नहुने र धुलो धेरै हुने ठाउँमा भने सनरुफ खासै उपयुक्त मानिँदैन। विशेष गरी गर्मी मौसममा त गाडीको झ्यालसमेत खोल्न कठिन हुन्छ, तसर्थ सनरुफ खोल्न त झन् असम्भव जस्तै हुन्छ।

आजकलका गाडीहरूमा ठूला पानारोमिक सनरुफहरू हुने र ती सनरुफहरूमा प्रयोग हुने पर्दाहरू निकै पातला हुने भएकाले गाडीको क्याबिन सजिलै तात्न सक्छ। यसले गर्दा एसी नचलाएर गाडीभित्र बस्न गाह्रो हुन्छ। धेरै प्रयोगकर्ताहरूले अहिलेको ईभी मोडेलहरूमा क्याबिन बढी तात्ने गरेको अनुभव गरेका छन्।

सुरक्षाको दृष्टिकोणले हेर्दा पनि सनरुफहरूबारे प्रश्न उठ्छन्। गाडीको छतमा शिशाबाट बनेका यी सनरुफहरू मेटलको तुलनामा कमजोर हुन्छन्। दुर्घटनाको समयमा वा माथिबाट कुनै गरुङ्गो वस्तु खसेमा यस्ता सनरुफहरू फुट्न सक्छन्, जसले गाडीभित्रका यात्रुहरूलाई थप चोटपटक लाग्न सक्छ। सिटबेल्ट नलगाएका यात्रुहरू दुर्घटनाका क्रममा गाडीबाट बाहिर उछिट्टिएको घटनाहरू पनि हामीले सुनिरहेका छौँ, जसले गर्दा यस्ता सुविधाहरूको सुरक्षामा प्रश्न उठ्छ।

अर्को महत्त्वपूर्ण पक्ष भनेको लागत हो। सनरुफ चारैतिरबाट रबरले सिल गरिएको हुन्छ, तर गाडी पुरानो हुँदै जाँदा यी रबरहरू लिक भएर क्याबिनमा पानी छिराउने समस्याहरू देखिन सक्छन्। यस्तो अवस्थामा मर्मतमा राम्रो रकम खर्च गर्नु पर्छ, जसले सनरुफलाई महँगो बनाउँछ।

सनरुफका फाइदाहरू:

  1. प्राकृतिक प्रकाश: गाडी भित्रको वातावरणलाई खुला र उज्यालो बनाउँछ।
  2. ताजा हावा: सनरुफ खोल्दा बाहिरी हावाको सुलभता हुन्छ, जुन एयर कन्डिसनिङको विकल्पका रूपमा राम्रो विकल्प हो।
  3. प्रिमियम फिचर: गाडीलाई उच्चस्तरीय महसुस गराउन मद्दत गर्छ, जुन कतिपयका लागि स्टाटस सिम्बल हो।

समस्याहरू:

  1. लागत: सनरुफ भएका मोडेलहरू महँगो हुन्छन्, जसले गर्दा गाडीको मूल्य वृद्धि हुन्छ।
  2. मर्मत खर्च: सनरुफको सर्भिसिङ र सम्भावित चुहावट समस्याले मर्मत खर्च बढ्न सक्छ।
  3. उपयोगिता: गर्मी मौसममा धेरैजसो सनरुफ कम प्रयोग हुन्छ, खासगरी अत्यधिक घामका कारण।
छुटाउनुभयो कि ?
Categories